२७ असोज, नुवाकोट । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकामा बाढीपहिरो प्रभावित परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका २१ वटा अस्थायी आवास हस्तान्तरण गरेका छन् ।

प्रचण्डले मंगलबार बिहान बेलकोटगढी नगरपालिका–७, महादेवथानमा प्रभावित परिवारलाई घरको चाबी हस्तान्तरण गरेका हुन् । दुई कोठा र शौचालयसहितका ती आवास वाईसीएल नेपालको पहलमा निर्माण गरिएका हुन् ।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले रसुवाको भोटेकोशीमा आएको प्रलयकारी बाढी र त्यसले पुर्याएको अकल्पनीय क्षति प्राकृतिक विपत्तिको परिणाम मात्र नभएको बताए । उनले विकसित भनिने मुलुकहरूले अपनाएको विकासको गलत मोडलको असर नेपालले भोग्नुपरेको बताए ।
संयोजक प्रचण्डले कार्बन उत्सर्जनमा नेपालको भूमिका नगण्य भए पनि त्यसबाट उत्पन्न जलवायु परिवर्तनको असर नेपालले भोग्नुपरेको बताए । आफू प्रधानमन्त्री हुँदा संयुक्त राष्ट्रसंघको महासभामा तथा राष्ट्रसंघका महासचिवसँगको भेटमा जलवायु न्यायको विषय उठाएको उनले स्मरण गरे ।
प्रचण्डले रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आफू पुगेको र आफ्नै उपस्थितिमा प्रभावित परिवारका लागि आवास निर्माण गर्ने घोषणा गरिएको स्मरण गर्दै भवन निर्माणमा खटिएको वाईसीएललाई धन्यवाद दिए ।

घर पाएपछि प्रभावित परिवारले आफ्ना लागि यी आवास केवल अस्थायी घर नभई सुरक्षित जीवनको आधार बनेको बताएका छन् । दुःखको समयमा वाईसीएल सहयोगी बनेर आएको भन्दै उनीहरूले खुसी व्यक्त गरेका छन् ।
बेलकोटगढी नगरपालिका–७ का ६३ वर्षीय श्रीकृष्ण नेपालले बाढीले आफ्नो घर आधा पुरेको बताए ।
‘मेरो घर बाढीले आधा पुर्यो । वाईसीएलले घर बनाइदियो । मेरा लागि यो सिंहदरबार हो,’ उनले भने ।
बेलकोटगढी–७ कै प्रदीप राईले यस वर्षको दसैं वाईसीएलले बनाइदिएको घरमा मनाउन पाउने बताए । घर निर्माणले आफूहरूलाई बाँच्न र नयाँ जीवन सुरु गर्न प्रेरित गरेको उनको भनाइ छ ।
स्थानीय शम्भु सिग्देलले वाईसीएलले आफ्नो गाउँलाई ठूलो गुन लगाएको बताए ।
वाईसीएल नेपालका अध्यक्ष पुष्प वलीले बाढीपहिरोबाट प्रभावित परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले निर्माण अभियान सञ्चालन गरिएको बताए ।
वाईसीएलका उपमहासचिव एवम कार्यालय प्रमुख अनन्त प्रकाश श्रेष्ठका अनुसार निर्माण गरिएका अस्थायी आवास दुई कोठा, शौचालय र ५०० लि. पानी टैंकी सहितका छन् । एउटा आवास निर्माणमा अनुमानित चार लाख रुपैयाँ खर्च भएको उनले बताए । यो अभियानलाइ नेकपाको आर्थिक तथा उत्पादन विभाग सदस्य किशोर लोहनीको प्राबिधिक तथा आर्थिक समन्वय गरेका थिए ।
वाईसीएलका उपाध्यक्ष हरि ढकालका अनुसार दाताहरूबाट प्राप्त निर्माण सामग्री तथा प्राविधिक सहयोगमा ती संरचना निर्माण गरिएका हुन् ।
आवास निर्माण, सरसफाइ, उद्धार, राहत तथा पुनर्निर्माणका काममा वाईसीएलका ६ सयभन्दा बढी नेता तथा कार्यकर्ता परिचालित भएको YCL बागमती अध्यक्ष नरेश रन्जितले बताए ।
वाईसीएलले घर निर्माण गरी हस्तान्तरण गरेका परिवारमा मोतिराम राई, सुरेन्द्र नेपाल, श्रीकृष्ण नेपाल, गोपी अधिकारी, लोकनाथ नेपाल, रमेश राई, प्रदीप राई, मीना राई, सोमप्रसाद राई, शिवराम नेपाल, हरिहर नेपाल, रामकुमार मगर, नरेश नेपाल, सरिता नेपाल, मुक्तिराम नेपाल, कोमलप्रसाद नेपाल, टीकाराम नेपाल, लालप्रसाद नेपाल, डण्डपानी घिमिरे र बुद्धलाल चित्रकार रहेका छन् ।
वाईसीएलले २१ वटा आवास हस्तान्तरण गरेको जनाएको भए पनि उपलब्ध विवरणमा २० परिवारको नाम मात्र उल्लेख छ ।
राहतदेखि उद्धार र पुनःस्थापनासम्म
वाईसीएलले आवास निर्माणसँगै बाढीपहिरो प्रभावित क्षेत्रमा राहत वितरण, उद्धार, सरसफाइ तथा पुनःस्थापनाका कामसमेत सञ्चालन गरेको जनाएको छ । संगठनका कार्यकर्ता बाढीपछि निरन्तर प्रभावित क्षेत्रमा खटिएका छन् ।

वाइसिएलका अध्यक्ष पुष्प वलीद्वारा जारी विज्ञप्ति अनुसार प्रभावित परिवारलाई खाद्यान्न, त्रिपाल, औषधि, लत्ताकपडा, सोलार लाइट तथा मोबाइललगायत अत्यावश्यक सामग्री वितरण गरिएको छ । प्रभावित नागरिकको उपचारमा सहयोग पुर्याउन ११ जनाको सहभागितामा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।
काठमाडौंमा रहेका प्रभावित परिवारलाई खाद्यान्न, त्रिपाल, लत्ताकपडा, भाँडाकुँडा तथा औषधोपचारमा सहयोग गरिएको र करिब १०० परिवारलाई खाना पकाउने ग्यास तथा खाद्यान्न उपलब्ध गराउने प्रयास गरिएको वाईसीएलले जनाएको छ ।
वाईसीएलको विज्ञप्तिअनुसार बाढीपहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनाका कामका लागि देशभर १० हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ ।
संगठनले प्रभावित परिवारलाई राहत उपलब्ध गराउने, सुरक्षित आवास निर्माण गर्ने र उनीहरूलाई सामान्य जनजीवनमा फर्काउन सहयोग गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ ।


प्रतिक्रिया